Real estate ads rs.200 inquiry 9849143786

योगमय जीवन कसरी ?

0   
योगमय जीवन कसरी ?
11 Jan
7:57

धेरैजसो मानिस आज धनबलको बन्दोबस्त गर्ने अन्त्यहीन दौडानमा छन् । मान्छेलाई न चैन छ, न वि श्राम गर्ने समय । धनबलको दौडानमा जब मान्छे थाक्छ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । ऊ आउने आखिर योगकै शरणमा हो । चाहे त्यो कालो होस् या गोरो, सनातनी होस् या गैरसनातनी, साम्यवादी होस् या अरू कुनै वादी । हाम्रा आर्ष अन्वेषक पूर्वजहरूले प्रवर्तन गरेको योग, हामी तिनैका सन्ततिहरू भएर पनि त्यतिसाह्रो गर्दैनौं । हाम्रो पूर्वीय इतिहाससँग कुनै तालुक नभएका पश्चिमाहरू अहिले योग क्षेत्रमा धमाका गरिरहेका छन् । के यो योगबलको प्रभाव हैन ?

‘नास्ति योगसमं बलम्’ अर्थात् योग समान अर्को बल छैन । धनबल, जनबल, मनोबल, देहबल, पदबल जस्ता बलहरूको शिखरमा योगबल छ । योगबल त्यस्तो परम बल हो, जसले जिउने बलसँगसँगै परम शक्ति प्राप्त गर्ने महाबलसमेत प्रदान गर्छ । योगमा केवल विरासन र सिंहासन मात्रै गरिँदैन । यसले वीर र सिंहस्वरूपसमेत बन्न सिकाउँछ, अन्यथा योगमा निहित बलप्रदायक विशेषताको वर्णन योगगुरु अमित राय किन यसरी गर्नुहुन्थ्यो, ‘योग केवल केही आसनहरूको पुनरावृत्ति होइन, यो त्यो विद्या हो, जसले हामीभित्र विद्यमान सूक्ष्म ऊर्जा भण्डार खोज्ने र प्रस्फुटित गर्ने काम गर्छ ।’

तपाईं हामीमध्ये कतिपयको योग सुरु गरौंला भन्दाभन्दै वर्षीय वर्ष बितेर जान्छ । उनीहरू भने ‘योग गरौं आजैदेखि’ भन्ने नारा बोकेर दिनैपिच्छे लाखौं मान्छेलाई योगसँग जोडिरहेका छन् । जहाँ-जहाँ योग विषयक उत्सव, महोत्सव, कार्यशाला र कुम्भमेला हुने गर्छ, गोरो छाला भएकाहरूको संख्या ठूलो हुने गर्छ । यसबाट लाग्छ- उनीहरू धनबलको साधनाबाट अघाएर अब योगबलको मार्ग खोजिरहेका छन् । संयुक्त राज्य अमेरिकामा मात्रै आजको दिनमा योग क्षेत्रमा करोडौं डलरको कारोबार भइरहेको छ ।

महँगा-महँगा सहरहरूमा महँगा-महँगा पाराका योगा स्टुडियो, लाइफ स्टाइल क्लिनिक, योगा पार्लर, योगा सेनिटोरियम र योगा क्लबहरू धमाधम खुलिरहेका छन् । योग विज्ञानमा त्यति बल नभएको भए योग यसरी फैलिने थिएन होला । योगबलको बारेमा यसरी बहुआयामिक व्याख्या गर्नुको उद्देश्य यो आलेख पढ्दै गर्ने तपाईंलाई योगशैलीको पारखी बन्न प्रेरित गर्नु हो । योग गर्न कुनै थप योग्यता चाहिँदैन र तपाईं नै यसको उत्कृष्ट पात्र हुनुहुन्छ ।

योगशैली तपाईंका लागि

योग धेरैले बुझेजस्तो आधा-एक घन्टामा गर्ने व्यायाम कसरत हैन । यो प्रतिपल, प्रतिक्षण र साससासमा चलिरहने प्रक्रिया हो । महर्षि अरविन्दले भन्नुभएको छ, ‘प्रत्येक श्वास योग साधना हो ।’ व्यावहारिक परिप्रेक्ष्यमा योग जीवन जिउने कला हो । योग विज्ञानका अध्येताहरूको अनुभवमा योग समग्र जीवन पद्धति हो, सर्वांगीण जीवन दर्शन हो । अध्यात्म वैज्ञानिकहरूको दृष्टिकोणमा योग सबै विज्ञानभन्दा माथि चेतनाको महाविज्ञान हो । ऋषिमहर्षि सूक्ष्मद्रष्टाहरूको भनाइमा योग समाधिको यात्रा हो ।

उपरोक्त विश्लेषणहरूमध्ये तपाईंलाई जुन उपागम अधिक जँच्दछ, त्यसलाई सहर्ष स्विकार्न सक्नुहुनेछ । व्यक्तिपिच्छे रुचि, क्षमता, कर्मसंस्कार र प्रारब्धको स्तर भिन्नभिन्न हुने गर्छ । कुनै व्यक्ति तर्कशील र बौद्धिक हुन्छ भने कुनै व्यक्ति भावनाशील र भक्तिवान् हुन्छ । जसमा जुन किसिमको क्षमता र अभिरुचि हुन्छ, सोहीअनुरूप ऊ योगमार्गको चयन गर्न सक्छ । त्यसैले गर्दा योग-आविष्कारहरूले अनेकौं प्रकारका योग प्रणालीको प्रवर्तन गरेका छन् । पृथक-पृथक प्रकारका योग पद्धतिहरूको अवधारणा खासगरी विविधतापूर्ण जिज्ञासु र अनुयायीहरूको सुविधामाथि ध्यान राखेर विकसित भएको हुनुपर्छ।

प्रचलित प्रमुख योग प्रणाली यस्ता छन्- कर्मयोग, ज्ञानयोग, राजयोग, अष्टांग योग, भक्तियोग, मन्त्रयोग, हठयोग, क्रियायोग, नादयोग, प्राणयोग, ध्यानयोग । आजभोलि योगको नाममा जुन आसन, प्राणायाम र केही मुद्राबन्धको प्रयोग गरिन्छ, त्यो हठयोगको एउटा सानो अंश मात्र हो । समग्रतामा योग व्यापक, असीम र वैविध्यपूर्ण छ । यसर्थ योग गर्नलाई कसैलाई कुनै पनि कुराले र कहिल्यै पनि छेक्दैन । जहिले पनि जहाँ पनि, जुनसुकै परिस्थितिमा पनि योग गर्न सकिन्छ ।

योग गर्नलाई ‘मन’ भए पुग्छ । मनमा तत्परता र तन्मयता छ भने योग जसले पनि गर्न सक्छ । यो कुनै पनि हालतमा कठिन छैन । यो आफ्नै हातको खेल हो, तर साहस र श्रद्धाचाहिँ चाहिन्छ ।’

शरीर रहुन्जेल हाम्रो शरीर कुनै न कुनै आसनमा अवस्थित हुने गर्छ । आसनबिना शरीर अस्तित्वमै रहँदैन । हरघडी शरीरको अवस्था, दशा, लयबद्धताप्रति सजग हुनु नै आसनाभ्यास हो । प्रत्येक मिनेट १६-१७ पटक लिनेछोड्ने श्वासप्रश्वासलाई परिष्कृत गर्नु प्राणायाम हो । यसरी जीवनका प्रत्येक आयाममा उत्कृष्टता, विशुद्धता र दिव्यता थप्दै जानलाई केले छेक्ने ? स्मरण रहोस्, शरीर र मनको उपलब्धता नै योगको प्रयोगशाला हो । एकपटक फेरि श्री पट्टाभि जोइस भन्नुहुन्छ, ‘जो यसलाई चाहन्छ योग हरेकको लागि सम्भव छ । योग एक ब्रह्माण्डीय विषय हो, तर यसलाई व्यापारिक उद्देश्य र सांसारिक कमाइको उद्देश्यले प्रयोग गर्ने भूल नगर ।’

योगमय जीवन कसरी ?

महर्षि पतञ्जलि योगसूत्रमा लेख्नुहुन्छ- सतुदीर्घकालनैरन्तर्यसरकारसेवितो दृढभूमि । योग सफल बनाउनको लागि दीर्घकालसम्म योगाभ्यास जारी राख्नुपर्छ । योग साधना निरन्तर अर्थात् प्रत्येक दिन निर्दिष्ट समयमा हुनुपर्छ । पूर्णतः सत्कार एवं श्रद्धायुक्त भएर योग अभ्यास गर्नुपर्छ, अनि मात्र योग दृढ यानिकी परिपक्व हुन्छ र त्यसले परिणाम दिन्छ । प्रस्तुत तीन अपरिहार्य सर्तसहित योगसाधनाको मार्गमा अघि बढ्ने व्यक्ति अवश्यमेव योगको शिखरमा पुग्नेछ । यी तीन घटकहरू जेजति मात्रामा आत्मसात गरिन्छ, सोही मात्रामा योग फलदायी हुँदै जान्छ ।

योग भन्नेबित्तिकै हठयोगको आसन प्राणायाम सम्झनेहरूलाई यो कुरा बुभ्न कठिन होला, तर योग केवल शरीरको अभ्यास हैन, यो मन र चेतनाको अभ्यास हो । मनको प्रवृत्ति जीवनपर्यन्त अविराम गतिशील रहने हुनाले यसै मनद्वारा योग हासिल गर्नको निमित्त मनलाई हरेक क्षण योगाभ्यासमा लगाउने निर्देश योगऋषिहरूले दिएका छन् ।

हाम्रो मन योगतर्फ उन्मुख भएन भने विपरीत दिशातर्फ उन्मुख हुन्छ । विपरीत दिशा भन्नाले विषय-वासना, भोग, सांसारिकता, धनसम्पत्ति, कामवासना हुन् । यसरी मन योगतर्फ नलागेर विपरीत दिशा धारामा निरन्तर र दीर्घकालसम्म लाग्नुको परिणाम नै त तनाव, दुःख, चिन्ता, व्याकुलता हो । के तपाईंं आधा घन्टा लगाएर मन एकाग्र गर्दैमा मन ती विषयबाट विमुख हुन्छ भन्ने ठान्नुहुन्छ ? अवश्य हुँदैन किनकि रातदिन निरन्तर मनको प्रवृत्ति दीर्घकालसम्म जुन दिशा धारातर्फ बग्छ, त्यतैको प्रभाव हावी हुन्छ । ऋषिवर पतञ्जलीको निरन्तर र दीर्घकालसम्म शब्दको ध्येय मनको स्वाभाविक प्रवृत्ति उल्ट्याएर योगमार्गमा प्रेरित गर्नु हो ।

योगपथ साँच्चै विलक्षणको छ । सुरुमा यसले कष्टमय साधनाको माग गर्छ । ठीक-ठीक तरिकाले खाने, हिँड्ने, कामकाज गर्ने, सुत्ने, उठ्ने र समुचित जीवनयापन गर्नुपर्ने कठिन जीवनशैली अपनाउन विवश गराउँछ । यसरी दुःखकष्टपूर्वक अघि बढ्दै गएपछि त्यही योगले सम्पूर्ण दुःखको हरण गर्छ । साधकलाई हरक्षण आनन्दविभोर अवस्था प्रदान गर्दछ ।

हो, योग तपाईं पनि गर्न सक्नुहुन्छ । यसबाट तपाईं पनि कृतकृत्य हुन सक्नुहुन्छ । पेसा, काम, जातजाति, लिंग, धर्म र भाषाले रोक्दैन । ‘उठ ! जाग र आफ्नो लक्ष्यतर्फ अग्रसर होऊ, जबसम्म गन्तव्य हासिल हुँदैन ।’ स्वामी विवेकानन्दको यो जागरण उद्घोष लक्ष्यार्थ योग नै हो किनकि योग नै मनुष्य जीवनको अन्तिम गन्तव्य हो । तपार्इंको व्यक्तित्व, अभिरुचि, आन्तरिक संस्कार र क्षमताअनुसार जुन योगपथ उपयुक्त हुन्छ, त्यसमा अग्रसर हुनुहोस्।

योग नगरे गुम्छन् यी फाइदा

शारीरिक – ओजस्वी शरीर, आरोग्यवान् एवं स्वस्थ शरीर, तन्दुरुस्त एवं सुगठित काया, कर्मसामथ्र्यले युक्त तन, तेजोमय मुखमण्डल, स्फूर्तिवान् व्यक्तित्व, भरिपूर्ण जीवनीशक्ति, दुःखकष्ट घामपानी सहन सक्ने ज्यान । प्राणिक-प्राणसम्पन्न व्यक्तित्व, आँखामा तेज, त्वचामा चमक, प्रबल रोग प्रतिरोधी क्षमता, जाडो गर्मी जुनसुकै स्थानमा अनुकूलित हुन सक्ने, उन्नत एवं सुविस्तृत आभा मण्डल भएको ।

मानसिक-तीक्ष्ण आईक्यू (बौद्धिक क्षमता), एकाग्रता क्षमता, स्मृति क्षमता, बोधक्षमता, ग्रहण क्षमता, धारणा क्षमता, ध्यान क्षमता जस्ता मानसिक क्षमताले युक्त । सिर्जनात्मकता, रचनात्मकता, मनस्वीता, अन्तज्र्ञान, भाषिक चातुर्य, भेद चातुर्य, निर्णयशीलता, लक्ष्यशीलता, नेतृत्वक्षमता, प्रबन्धक्षमता, कलाकौशल आदि कसौटीमा प्रखर ।

नैतिक -नीतिवान्, सदाचारी, सत्यनिष्ठ, अहिंसावादी, एमआई अर्थात् मोरल इन्टेलिजेन्स सम्पन्न, विश्वसनीय, अपरिग्रही (अनावश्यक सम्पत्ति नथुपार्ने), समाजनिष्ठ, सामूहिकता एवं सहकारिताको गुणयुक्त, सहअस्तित्वप्रेमी, प्रकृतिप्रेमी, पर्यावरणप्रेमी, आदर्शवान् । आध्यात्मिक – हृदयवान्, भावनाशील, परानुभूतियुक्त, कर्मशील, कर्मफल विधानको अनुयायी, संस्कारवान्, संकल्पशील, ईश्वरानुरायी, आसक्तिविहीन, न्यायप्रेमी, सर्वप्रिय, प्रेमवान्, दिव्य गुणहरूले युक्त ।annapurnapost

« »

E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Jhapa
Area: 6.5 dhur
Location: jhapa
Price: 78,75,000
Land Sale Kathmandu
Area: 10 aana
Location: kavresthali
Price: 4 lakhs